काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, जिम्मेवार र स्तरीकरण गर्नुपर्ने बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ को कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद बरालले परामर्शदाताहरूले आफूलाई स्तरीकरण गर्दै त्रुटिरहित ढंगले अन्तर्राष्ट्रिय सेवा विस्तारमा लाग्नुपर्ने बताए ।
व्यवसायीका लागि तोकिएको धरौटीको प्रबन्ध मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै उनले धरौटीलाई ‘ग्यारेन्टी’का रूपमा रूपान्तरण गरिनुपर्ने तर्क गरे ।
उक्त ग्यारेन्टीलाई कायम राख्न शैक्षिक उन्नयनका लागि आवश्यक नियमहरूद्वारा सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा अध्ययनका लागि जाने विद्यार्थीलाई विश्वविद्यालय, पाठ्यक्रम, अध्ययन अवधि र शिक्षण शुल्कबारे स्पष्ट जानकारी दिनु परामर्शदाताको मुख्य जिम्मेवारी भएको उनले उल्लेख गरे । व्यवसायमा रहेका अब्बल दर्जाका परामर्शदाताले पछाडि रहेकाहरूलाई सबल बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
सरकारको नीतिले कुनै खास समूह वा आर्थिक रूपमा सबल व्यक्तिहरूलाई मात्र लाभ दिने र अरूलाई निषेध गर्ने खालको हुन नहुने उनको तर्क छ ।
धरौटी राख्न सक्ने हैसियत भएकाले मात्र व्यवसाय गर्न पाउने र अरूलाई निषेध गर्ने प्रक्रिया न्यायोचित नहुने बताए। सरकारले पछाडि परेका व्यवसायीलाई अगाडि बढाउन ब्याक अप गर्नपर्ने उनको भनाइ छ । उनले नेपालको वर्तमान आवश्यकता प्रगतिशील र उत्पादनशील परामर्शदाताको सम्बन्ध र स्तर कायम गर्नु रहेको स्पष्ट पारे ।






