काठमाडौँ । भारतको बिहार राज्यस्थित बाँकीपुर विधान सभा क्षेत्रको उपनिर्वाचनमा जन सुराज पार्टी (जेएसपी)का प्रमुख प्रशान्त किशोर विजयी भएका छन्। यससँगै उक्त क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा)को करिब तीन दशकदेखिको राजनीतिक वर्चस्व समाप्त भएको छ।
विगतमा विभिन्न राजनीतिक दलका लागि चुनावी रणनीतिकारका रूपमा परिचित किशोरले पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिँदै भाजपाको बलियो आधार मानिएको क्षेत्रमा विजय हासिल गरेका हुन्।
बाँकीपुर विधान सभा क्षेत्र लामो समयदेखि भाजपा नेता नितिन नबिनको प्रभाव क्षेत्रमा पर्दै आएको थियो। नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त सिटमा भएको उपनिर्वाचनमा किशोरले जित निकालेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै किशोरले बाँकीपुरको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आगामी तीन महिनाभित्र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिवर्तन ल्याउने दाबी गर्दै त्यसका लागि आफूलाई समय दिन आग्रह गरे।
किशोरले आफ्नो कार्यालय बाँकीपुरका मात्र नभई सम्पूर्ण बिहारका नागरिकका लागि खुला रहने उल्लेख गर्दै छोटो अवधिमै भाजपाको तीन दशक लामो राजनीतिक प्रभाव अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिए।
निर्वाचन परिणामलाई बिहारको राजनीतिक सन्देशका रूपमा व्याख्या गर्दै किशोरले राज्यका मतदाताले नयाँ राजनीतिक विकल्प खोजिरहेको दाबी गरे।
उनले बिहारका नागरिक अब आपराधिक छवि वा विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई राज्यको नेतृत्वमा देख्न नचाहेको टिप्पणी पनि गरे।






