काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको संस्थागत स्थायित्व, स्वायत्तता र कार्यक्षमता कायम राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
संघीय संसद्अन्तर्गतको अर्थ समितिको मंगलवार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी छलफलका क्रममा उनले मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीको नेतृत्व गर्ने संस्थाको संरचनामा पटक–पटक परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राखेका हुन्।
उनले संस्थागत संरचनामा बारम्बार गरिने फेरबदलले दीर्घकालीन स्थायित्व र व्यावसायिक कार्यसम्पादनमा प्रतिकूल प्रभाव पर्न सक्ने उल्लेख गर्दै आवश्यक सुधार गर्दा पनि संस्थाको मूल कार्यक्षमता कमजोर नहुने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य संख्या हालको सातबाट बढाएर नौ बनाउने प्रस्तावप्रति पनि असहमति जनाए। उनका अनुसार समावेशिता र विविध प्रतिनिधित्व महत्वपूर्ण पक्ष भए पनि संस्थालाई प्रभावकारी, चुस्त र कार्यमुखी बनाइराख्नु अझ प्राथमिक विषय हो।
उनले नेपाल राष्ट्र बैंकजस्तो संवेदनशील र स्थापित निकायको संरचनागत सुधार गर्दा संस्थागत सन्तुलन, स्वायत्तता र प्रभावकारी कार्यसम्पादनबीच उचित सन्तुलन कायम गरिनुपर्नेमा जोड दिएका छन्।






