काठमाडौँ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ती बन्दुक फेला पारिएको जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानका जंगलमा ओढार, झाडी तथा ढुंगाको आडमा लुकाएर राखिएका भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गत हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख र ल्वाडे भत्कुले सामुदायिक वनका विभिन्न स्थानबाट ३० नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका वडा नम्बर ९ स्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को राष्ट्रिय वन तथा वडा नम्बर ८ स्थित न्यु कालिका सामुदायिक वनबाट १३ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
यस्तै, प्रहरी चौकी हासिपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ८ स्थित नव चेतनशील सामुदायिक वन र न्यु कालिका सामुदायिक वनबाट थप ५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष अपरेशनका क्रममा बरामद गरिएका सबै अवैध भरुवा बन्दुक कसले र किन जंगलमा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले अवैध हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिने जनाएको छ ।






