काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने नेपालीको संख्या ७४ हजार नाघेको छ ।
ईपीएस कोरिया शाखाका अनुसार कोरियाले माग गरेको ७ हजार २ सय रोजगारी कोटाका लागि हालसम्म ७४ हजार १५३ जनाले आवेदन दिएका छन् ।
कोरियाले गत साउन ५ गते ईपीएस प्रणालीमार्फत आवेदन आह्वान गरेको थियो । आवेदन दिने अन्तिम समय बुधबार राति १२ बजेसम्म तोकिएको थियो ।
शाखाका अनुसार आवेदन दिनेमध्ये उत्पादनमूलक (मेनु) क्षेत्रतर्फ ५१ हजार १९९ जना, कृषि क्षेत्रतर्फ २० हजार २६६ जना रहेका छन् ।
त्यस्तै सेवा क्षेत्रका लागि ९३१ जना र वन (फरेस्ट्री) क्षेत्रका लागि १ हजार १० जनाले आवेदन दिएका छन् । आज मध्यरातीसम्म फर्म भर्ने समय बाँकी भएको आवेदकको संख्या थपिने छ ।
ईपीएस कोरिया शाखाले दोहोरो भुक्तानी भएका आवेदनकर्ताको रकम फिर्ता गर्ने तथा आवेदन विवरण सच्याउन एक साताको समय उपलब्ध गराउने जनाएको छ । त्यसपछि अन्तिम विवरण दक्षिण कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) लाई पठाइने शाखाले जनाएको छ ।
ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि नेपाली कामदार छनोट प्रक्रिया एचआरडी कोरियाको समन्वयमा सञ्चालन हुँदै आएको छ ।






