काठमाडौँ । बिहीबार विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दै छ ।
प्राप्त सूचनाअनुसार, अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘मुस्लिम आयोगको काम कारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल’ गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्दै छ ।
अपराह्न १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल हुनेछ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
बिहान १ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक विषयमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २:३० बजे बस्दै छ ।






