काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रा. डा. चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्था स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
पूर्वतयारी, अध्ययन तथा मन्त्रिपरिषद्को निर्णय भइसकेको आयोजना लामो समयदेखि अघि नबढेको भन्दै उनले यसको प्रगति विवरण सार्वजनिक गर्न आग्रह गरेका हुन्।
संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा बोल्दै यादवले ढल्केबरको रणनीतिक अवस्थालाई ध्यानमा राख्दै त्यहाँ अत्याधुनिक ट्रमा सेन्टर स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार ढल्केबर पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थल हुनुका साथै मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको प्रमुख व्यापारिक तथा यातायात केन्द्र भएकाले दैनिक सवारीसाधनको अत्यधिक चाप रहने क्षेत्र हो। यही कारण सडक दुर्घटनाको जोखिम पनि उच्च रहेकाले समयमै विशेषज्ञ ट्रमा सेवा उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ थियो।
सांसद यादवले प्रस्तावित ट्रमा सेन्टरबाट मधेश प्रदेशको करिब २१ प्रतिशत जनसंख्यासहित विशेष गरी धनुषा, महोत्तरी, सर्लाही र रौतहटका ३२ लाखभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित हुने बताए।
उनले ढल्केबरमा ट्रमा सेन्टर स्थापनाको आवश्यकता पुष्टि गर्न वैज्ञानिक अध्ययनसमेत सम्पन्न भइसकेको उल्लेख गर्दै करिब चार वर्षअघि संघीय सरकारले माटो परीक्षण गरी भवन निर्माण प्रक्रिया अघि बढाएको स्मरण गरे। त्यसक्रममा करिब दुई करोड रुपैयाँको लागतमा निर्माण प्रक्रिया प्रारम्भ गरिएको भए पनि हाल आयोजना कुन अवस्थामा पुगेको भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनको माग थियो।
यादवले मन्त्रिपरिषद्बाट निर्णय भई जग्गा प्राप्तिको प्रक्रिया समेत अघि बढिसकेको आयोजना बीचमै रोकिएकोप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयसँग यसको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे स्पष्ट जवाफ दिन आग्रह गरे।






