काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई सहज, नियमित र पारदर्शी बनाउन व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री–वितरण नगर्न चेतावनी दिएको छ।
कार्यालयले अत्यन्त जरुरी सूचना जारी गर्दै केही विक्रेताले ग्यास लुकाउने, कृत्रिम अभाव उत्पन्न गर्ने, कालोबजारी गर्ने तथा निर्धारित मूल्यभन्दा बढी रकम असुल गरिरहेको भन्ने गुनासो प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रशासनले उपभोक्ताको हित विपरीत हुने यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिँदै सबै व्यवसायीलाई अनिवार्य रूपमा बिल वा रसिदसहित तोकिएको मूल्यमा मात्रै ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।
सूचनाको बेवास्ता गर्दै कृत्रिम अभाव सिर्जना गरेको, मूल्यवृद्धि गरेको वा कालोबजारी गरेको पाइए कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। त्यस्तो अवस्थामा सम्बन्धित मालसामान जफत, जरिवाना तथा कैद सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले यस्ता गैरकानुनी गतिविधिबारे प्रमाणसहित जानकारी भए तत्काल कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाद्वारा जारी सूचनामा बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन प्रशासनले अनुगमन तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ।







