काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले खाना पकाउने ग्यासको अभाव र सर्वसाधारणले खेपिरहेको सास्तीलाई लिएर सरकारको आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रसाईँले निर्वाचनका बेला सरकारी सेवा लिन नागरिकले लाइन बस्नुपर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै अहिले ग्यासका लागि दिनरात लाइन बस्नुपर्ने अवस्था देख्दा लज्जाबोध भएको बताए।
‘कहिलेकाहीँ म कन्फ्युजन हुन्छु, मेरै गालामा मेरै चड्कन,’ उनले भने, ‘मैले चुनावताका गरेका भाषण सम्झिँदा, जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा।’
उनले विगतमा आफूले गरेका भाषण र अहिले नागरिकले भोगिरहेको अवस्थाबीच तुलना गर्दै प्रश्न उठाएका हुन्।
‘आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ प्रसाईँले भने।‘प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यास अभाव छ कि छैन ?’
देशभर ग्यासको अभाव रहेको उल्लेख गर्दै सांसद प्रसाईँले त्यसको असर प्रधानमन्त्री र मन्त्रीहरूको निवाससम्म पुगेको छ कि छैन भनेर प्रश्न गरे। ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ?’ उनले प्रश्न गरे।
बजारमा देखिएको अभाव वास्तविक हो वा कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।
पर्याप्त ग्यास आपूर्ति हुँदाहुँदै कालोबजारीका कारण उपभोक्ताले अभाव खेप्नुपरेको भए त्यसमा संलग्नलाई कठोर कारबाही गर्नुपर्ने प्रसाईँले बताए।
‘ग्यास ह्वारह्वार्ती आएर पनि कालोबजारी भएको हो भने ती कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुई तिहाइको सरकारलाई ?’ उनले प्रश्न गरे। ‘जनताले नयाँ अनुहार होइन, नयाँ चरित्र खोजेका हुन्’
प्रसाईँले राजनीतिक परिवर्तनलाई अनुहार परिवर्तनमा मात्रै सीमित गर्न नहुने भन्दै शासन र राजनीतिक संस्कारमा परिवर्तन देखिनुपर्ने बताए।
उनले जनताले नयाँ सरकार वा नयाँ अनुहार मात्रै नभई नयाँ संस्कार र चरित्र खोजेको उल्लेख गरे। ‘चिल्ला, ह्यान्डसम नयाँ अनुहार खोजेको होइन। नयाँ चरित्र खोजेको हो, जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ,’ उनले भने।






