काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने कार्यतालिका परिवर्तन भएको छ।
साउन २६ गते राति काठमाडौँ फर्किने तय भए पनि उनी आगामी बिहीबार साउन २८ गते दिउँसो साढे १२ बजे काठमाडौँ आइपुग्ने भएका हुन् ।
साउन २६ गते राति पौने १० बजे काठमाडौँ अवतरण हुने तालिका भए पनि रातिको समयमा विमानस्थलमा स्वागत गर्न कठिन हुने भएकाले समर्थकको आग्रहमा उडानको समय परिवर्तन गरिएको बताइएको छ ।
देउवा बिहीबार थाई एयरवेजको विमानमार्फत काठमाडौँ आउने जनाइएको छ। गत भदौमा भएको जेन जेड आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर एयरलाइन्सबाट सिंगापुर गएका थिए।
थप उपचारका लागि उनी २०८२ चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि साउन ५ गते बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा देउवाले स्वास्थ्य उपचारपछि आफू चाँडै स्वदेश फर्किने बताएका थिए।






