काठमाडौँ । प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार ती महिलाको ठगीको कथा फेसबुकबाट शुरु भएको थियो । बेलायत (युके) को कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा अथाह सम्पत्ति रहेको भन्दै उनीसँग मित्रता गाँसेका थिए । कुराकानीकै क्रममा ती व्यक्तिले आफू बेलायतको सम्पूर्ण सम्पत्ति बेचेर नेपाल आउन लागेको र नेपालमै घरजग्गा किनेर उनीसँगै जीवन बिताउने आश्वासन दिएका थिए ।
महिलालाई विश्वस्त तुल्याउन ती व्यक्तिले विमानस्थलका भिडियोहरू पठाउने र भिडियो कल गर्ने समेत गरेका थिए । केही समयपछि उनले आफू भारतको बाटो हुँदै नेपाल आउन लागेको जानकारी दिए । लगत्तै, भारतीय प्रहरीको पोसाक लगाएको प्रोफाइल तस्बिर (डीपी) भएको ह्वाट्सएप नम्बरबाट ती महिलालाई फोन आयो ।
फोनमा भनिएको थियो, ‘तपाईँको साथी ठूलो परिमाणको नगद र सम्पत्तिसहित समातिएका छन्, उनलाई छुटाउन भन्सार र जरिवाना बापत रकम तिर्नुपर्छ ।’
आफ्नो भावी श्रीमान् ठानिएका व्यक्ति समस्यामा परेको ठानेर ती महिलाले सुरुमा पटक–पटक गरी ९ लाख रुपैयाँ पठाइन् । यति रकम पठाएपछि आफू ठगिएको आशङ्कामा उनी जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् । प्रहरीले अनुसन्धान गरी यो स्पष्ट रूपमा ठगी भएको र अब थप एक रुपैयाँ पनि नपठाउन उनलाई सचेत गरायो । तर ठगको मनोवैज्ञानिक प्रभाव यति बलियो थियो कि प्रहरीको चेतावनीका बाबजुद ती महिलाले पुनः २२ लाख रुपैयाँ पठाइन् ।
प्रहरीकाअनुसार ती व्यक्तिले ‘म अब निस्कन लागेँ, बाँकी २२ लाख दिएपछि सबै सम्पत्ति लिएर तिमीकहाँ आउँछु’ भनी भावनात्मक ब्ल्याकमेल गरेका थिए । अन्ततः ३१ लाख रुपैयाँ गुमाएपछि र भारतीय प्रहरीसँगको समन्वयमा उक्त व्यक्ति अपराधी भएको पुष्टि भएपछि मात्र ती महिलाले आफू ठगिएको यथार्थ स्वीकार गरिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र पासवानकाअनुसार यो घटना एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो । अहिले बजारमा ठगीका अनेकौँ शैलीहरू सक्रिय छन् । फेसबुक र टिकटकमा सस्तो सामानको विज्ञापन राख्ने, अर्डर गरेपछि ‘पैसा आएन’ भन्दै स्क्रिन सेयर गर्न लगाउने र मोबाइलमा आएको ओटीपीमार्फत बैंक खाताबाट पैसा उडाउने गरिएको छ । नजिकका साथी वा आफन्तको फेसबुक र ह्वाट्सएप ह्याक गरी ‘म संकटमा छु, तुरुन्तै पैसा पठाइदेऊ’ भन्दै म्यासेज गरेर पैसा असुल्ने गरिएको छ ।
आकर्षक देशहरूको लोभ देखाएर नक्कली कागजात बनाउने र प्रोसेसिङका नाममा मोटो रकम ठग्ने गिरोह उत्तिकै सक्रिय छ । बैंक वा ई–सेवा, खल्ती जस्ता संस्थाको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने बहानामा ओटीपी माग्ने र खाताबाट रकम स्थानान्तरण गर्ने प्रवृत्ति पनि बढेको छ । सुरुमा सानो रकमको दोब्बर फिर्ता दिएर विश्वास जित्ने र पछि लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन हुने ‘अनलाइन बेटिङ’ र नक्कली लगानीका स्किमहरू पनि सक्रिय छन् ।
सूचना अधिकारी पासवानले अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । ‘कुनै पनि अपरिचित व्यक्तिले सामाजिक सञ्जालमा दिएको प्रलोभनमा नपर्नुस् । थोरै लगानीमा धेरै नाफा वा महँगो सामान सस्तोमा पाउने आश्वासन ठगीको पहिलो संकेत हो ।’ उनले भने ।
प्रहरीले आफ्नो बैंक खाताको विवरण, पिन नम्बर र ओटीपी कसैलाई नदिन, शंकास्पद लिंकहरू नखोल्न, अनधिकृत एपहरू डाउनलोड नगर्न र कुनै पनि अनलाइन कारोबार गर्नुअघि आधिकारिकता बुझ्न सर्वसाधारणलाई अपिल गरेको छ । यदि ठगी भएको शंका लागेमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत कास्की प्रहरीले अनुरोध गरेको छ ।






