काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रूपमा गिट्टी, बालुवा तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवा भइरहेको बताइन् । उनले यस सम्बन्धी कानुन अपुरो रहेको तथा भएको कानुनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । उनले हालको मापदण्डअनुसार तत्काल कानुन संशोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । उनले बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा उत्खनन् गर्न निषेधित रहेको समेत स्मरण गराइन् ।
उनले भनिन्, ‘बर्खे महिनाहरूमा कानुन र नियम अनुसार खोलाबाट गिटी र बालुवा निकाल्न निषेधित छ । तर तस्करहरूले एकै रातमा लाखौँ, करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन् । यो समस्या मेरो जिल्ला धादिङ लगायत नेपालको अधिकांश नदीमा जटिल समस्याको रूपमा खडा छ । त्यो भन्दा जटिल हाम्रो कानुन र प्रक्रियामा छ । मेरो मनसाय ढुंगा गिटी र बालुवा निकाल्न हुँदैन भन्नेमा पटक्कै होइन । तर यसको सही व्यवस्थापनमा कानुन वाधक बन्नु हुँदैन भन्ने हो । मापदण्ड अहिलेको व्यवस्थाअनुसार चल्नका लागि आवश्यक संशोधन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले नदीजन्य पदार्थको अवैध कारोबारका कारणका कारण सरकारले करोडौँ राजश्व गुमाइरहेको समेत बताइन् ।






