काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास वितरणमा अनियमितता भएको लागेमा छानबिन गर्न संसदीय समितिलाई आग्रह गरेकी छन् ।
बुधवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनियमितता भएको लागेमा छानबिन गर्न आग्रह गरेकी हुन्।
बैठकमा सहभागी सांसद तथा उपभोक्ताका प्रतिनिधिहरूले पाँचतारे लगायतका होटेललाई ग्यास दिएर उपभोक्तालाई नदिएको आरोप लगाएका थिए । जवाफमा मन्त्री कुमारीले पाँचतारेसहितका होटेलमा ग्यासको प्रयोग तथा वितरणबारे संयुक्त अनुगमन गरी वास्तविक अवस्था सार्वजनिक गर्न आग्रह गरेकी हुन् । मन्त्री कुमारीले उपभोक्ता मञ्च, समितिका सदस्य र मन्त्रालयका प्रतिनिधि सम्मिलित टोली बनाएर पाँचतारे तथा अन्य होटेलमा अनुगमन गर्न सुझाव दिँदै अनुगमनबाट भेटिएका तथ्य लिखित रूपमा मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गरिन्।
उनले भनिन्, ‘सभापतिज्यू, माननीयज्यूहरूलाई र उपभोक्ता मञ्चका साथीहरूलाई के भन्छु भने सबैजना मिलेर तीनैजनाको एउटा ग्रुप बनाएर जति पनि हाम्रो फाइभ स्टार होटेलहरू र अरू होटलहरु पनि छन्, त्यसमा गएर एक-एकको अनुगमन गर्नुस् । त्यहाँबाट कति के पाइएको हो भनेर लिखितमा प्लिज यति मन्त्रालयलाई सहयोग गर्नुस्, कहाँ-कहाँ के भएको हो ? त्यो आजैदेखि काम सुरु गरौँ र जाऔँ । यो प्रतिनिधिसभामा यो कुराहरू पनि उठिरहेको छ । यो सत्य तथ्य अगाडि ल्याइदिनुस्, मेरो विनम्र अनुरोध छ ।’
उनले ग्यास वितरणलाई सहज बनाउन टेकुसहित पाँच स्थानबाट ग्यास उपलब्ध गराएको जानकारी दिइन् । उनले उपभोक्ताका गुनासा आफूले सुनेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको दाबी गरिन्।
जनताको सेवक भएर काम गर्न आएको बताउँदै उनले इमानदारी र काममा कुनै सम्झौता नगर्ने बताइन् । उनले ग्यास अभाव भएका परिवारका बारेमा जानकारी आएमा तत्काल सिलिन्डर उपलब्ध गराउन मन्त्रालय र आयल निगम तयार रहेको पनि बताइन् । आफूले सांसदहरूलाई समेत ग्यास अभाव भएमा जानकारी गराउन आग्रह गरे पनि त्यस्तो माग नआएको बताइन् ।






