काठमाडौँ । सर्पदंश तथा रेबिजको उपचारमा प्रयोग हुने आवश्यक औषधिजन्य सामग्री स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारमा आइपुगेको छ। विभागले नियमित खरिद प्रक्रियाबाट ल्याएको उक्त सामग्री बिहीबार साँझ टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो।
विभागका अनुसार सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन र रेबिजविरुद्ध प्रयोग गरिने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन भण्डारमा दाखिला भएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेपछि ती सामग्री सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाइनेछ।
सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारमा आवश्यक पर्ने औषधि उपलब्ध भएपछि प्रदेश तथा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा उपचार सेवा सञ्चालन गर्न सहज हुने विभागको अपेक्षा छ।
स्वास्थ्य संस्थामा आवश्यक सामग्रीको आपूर्ति सुनिश्चित गर्ने नियमित खरिद तथा वितरण प्रणालीअन्तर्गत प्राप्त यी भ्याक्सिन तथा इम्युनोग्लोबुलिन देशभरका सम्बन्धित स्वास्थ्य संस्थामा पुर्याइने विभागले जनाएको छ।






