काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक संस्था र सरकारी निकायमाथि हस्तक्षेप बढेको आरोप लगाउँदै सरकारको सुशासन तथा समृद्धिको कार्यदिशामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले सेना, प्रहरी र कर्मचारीको मर्यादामाथि प्रहार भइरहेको बताएका छन्। सांसदका अभिव्यक्तिले संसद्को गरिमामाथि नै प्रश्न उठाएको उनको टिप्पणी छ।
‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ,’ सिंहले लेखेका छन्, ‘सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसद्कै बेइज्जती भइरहेको छ।’
सरकारका गतिविधिका कारण निजी क्षेत्रसमेत त्रसित बनेको सिंहको भनाइ छ। व्यापारीमाथिको धरपकडले व्यावसायिक वातावरण प्रभावित भएको दाबी गर्दै उनले लेखेका छन्, ‘व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन्।’
यद्यपि, उनले कुन संस्था वा निकायमा कस्तो हस्तक्षेप भएको र कुन घटनाका कारण व्यवसायी त्रसित बनेको भन्ने विस्तृत विवरण उल्लेख गरेका छैनन्।
सिंहले सरकारको परराष्ट्र नीतिमाथि पनि प्रश्न उठाएका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारप्रतिको विश्वास कमजोर बनेको दाबी गर्दै उनले ‘ट्रस्ट डेफिसिट’को अवस्था देखिएको टिप्पणी गरेका छन्।
‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ उनले लेखेका छन्।
सार्वजनिक निकायमा हस्तक्षेप, सुरक्षा निकाय र कर्मचारीप्रतिको व्यवहार, संसदीय अभिव्यक्ति, व्यवसायीमाथिको धरपकड तथा परराष्ट्र नीतिले मुलुकलाई अगाडि बढाउनुको सट्टा पछाडि धकेल्न सक्ने उनको आशङ्का छ।
‘के समृद्धि र सुशासनको रोडम्याप यही हो रु कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ रु सोच्ने बेला भएको छैन ?’ सिंहले प्रश्न गरेका छन्।






