काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्व मुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताए ।
नेपालको परराष्ट्र नीति र संविधानले तोकेको सीमाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने उल्लेख गर्दै उनले एसपीपीमा सहभागी हुँदा नेपाल सामरिक पक्षबाट जोडिएको देखिने वा नदेखिने विषयको विश्लेषण हुन आवश्यक रहेको समेत बताए ।
नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अँगालेको भन्दै उनले कुनै पनि महाशक्ति राष्ट्रका सामरिक वा सैन्य सञ्जालमा जोडिनु त्यसको सिद्धान्त विपरीत हुने बताए ।
उनले भने, ‘अब हामीले उबेलामा एसपीपीको बारेका चर्कै कुरा उठेको हो । यो प्रक्रिया अगाडि नबढाउने भन्ने आधिकारिक निर्णय नै भएको छ । यसमा हाम्रो कन्सर्न कहाँनिर हो त भन्दा रणनीतिक सामूहिक कुरामा हामी जोडिनु हुन्न भन्ने नै हो । त्यसकारण सरकार त्यो बेलामा यसबाट पछि हटेको हो । यो विषयमा विस्तृत रूपमा छलफल समेत भएको थिएन । यसले तरंग जै सिर्जना गरेर त्यो पटक बन्द गरिएको हो । यस विषयमा हामीले हाम्रो परराष्ट्र नीतिको डेडलाइन र संविधानले तोकेको सीमाभन्दा बाहिर जान नमिल्ने भएको हुनाले हामी एसपीपीमा जोइन हुँदा हामी सामरिक पाटोबाट जोइन भएको देखिन्छ कि देखिँदैन ? भन्ने कुराको विश्लेषण नगरीकन यसमा जोइन हुन सक्ने स्थिति छैन ।’
नेपाल सरकारले २०७९ असारमा एसपीपी अगाडि नबढाउने र सहभागी नहुने औपचारिक निर्णय गर्दै कार्यान्वयनका लागि अमेरिकालाई पत्र पठाउने निर्णय गरेको थियो ।






