नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घट्दै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर अपराधसम्बन्धी उजुरी घट्दै र साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै जान थालेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
आर्थिक वर्षको २०८१/०८२ मा ३०९ साइबर अपराधसम्बन्धी उजुरी परेकामा अहिले ती उजुरी घटेर १३१ पुगेको छ । परेका उजुरीमध्ये मेलमिलाप भएको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिलेसम्म साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका कारण पनि उजुरी कम हुँदै गएको जानकारी दिए । परेका उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका थिए ।
विद्युतीय अपराधसँग सम्बन्धित बाँकेमा परेका पाँच मुद्दामध्ये दुई घटनाको मुद्दा आर्थिक वर्ष २०८१/०८२ को र तीन मुद्दा आर्थिक वर्ष २०८२ /०८३ को रहेको प्रहरीले जनाएको छ । सो मुद्दामा दुई जना पक्राउ परेर धरौटीमा रिहा भएका छन् भने तीन जना अझैं फरार रहेको प्रहरीले जनाएको छ । यी मुद्दा एउटा इलाका प्रहरी कार्यालय, कोहलपुरमा र चार मुद्दा जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको थियो ।
प्रहरीका अनुसार आव २०७९/८० मा १०६, आव २०७८/७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी परेका थिए । विदेशबाट पनि साइबर कानुन उल्लंघन गरेको पाइएको छ । प्रहरीका अनुसार साइबर कानुन उल्लंघन फेसबुक, इन्स्टाग्राम, भाइवर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको छ । साइबर अपराधमा सङ्लग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही हुने गरेको छ ।






