काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ टौडोलस्थित एक घरको डेरा कोठा फुटाएर गरगहना, नगद तथा अन्य धनमाल चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साउन २६ गते दिउँसो करिब साढे ३ बजे डेरा कोठा फुटाएर चोरी गरी फरार भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बालाजुबाट टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा साउन २९ गते काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई चोरीका विभिन्न सामानसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका-३ घर भई काठमाडौँ-३१ जैसीदेवल बस्ने २५ वर्षीय सुमन थापा मगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई काठमाडौँको मनमैजु बस्ने २३ वर्षीय दीपक भन्ने दीपेश नेगी, गोरखाको धार्चे गाउँपालिका-५ का ५१ वर्षीय धनबहादुर सुनार र सोही ठाउँ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३५ वर्षीय सुकबहादुर गुरुङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न दरका ७५ हजार रुपैयाँ नेपाली नगद, दुई अमेरिकी डलरको एक थान नोट र एक अमेरिकी डलरको एक थान नोट बरामद गरिएको छ।
त्यस्तै, सुनजस्तो देखिने दुई थान मुन्द्रा, दुई थान झुम्का, दुई थान औँठी र गहनाका ३१ टुक्रासहित तीन ल्यापटप, नौ मोबाइल सेट, पाँच घडी र तीन क्यामरा बरामद गरिएको प्रहरीले जनाएको छ।
दुई जोर चाँदीको पाउजु, एक खुकुरी, तीन क्याप टोपी, एक कालो हुडी, तामाजस्तो देखिने एक मूर्ति र एक थान नागरिकतासमेत बरामद भएको छ। चोरीमा प्रयोग हुने भनिएका दुई थान रड र एक फलामे छिनोसमेत फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका चारै जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।






