काभ्रेपलाञ्चोक । गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित प्रहरी नायव निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठ मध्यरातमा होटलको कोठाबाट एक युवतीसहित नियन्त्रणमा परेका छन्।
नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज श्रेष्ठलाई स्थानीयले नमोबुद्धस्थित एक होटलको कोठाबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। घटनाका क्रममा केही प्रहरीसमेत त्यहाँ पुगेको देखिने भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा श्रेष्ठ एक युवतीसँग कोठाभित्र रहेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएको दृश्य देखिन्छ। भिडियोमा उनी प्रहरीको सञ्चार सेटसहित देखिएका छन्।
स्थानीयले श्रेष्ठमाथि जिम्मेवारी र प्रहरी मर्यादाविपरीत गतिविधि गरेको आरोप लगाएका छन्।
स्थानीयले नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले श्रेष्ठसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याएको बताइएको छ ।
श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए।
यस विषयमा थप आधिकारिक जानकारी लिन प्रशासनले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रबिन कार्कीसँग सम्पर्क गरेको थियो। पहिलो पटक सम्पर्क गर्दा सम्पर्क विच्छेद भएको थियो। पुन: सम्पर्क गर्दा कार्कीले आफू बैठकमा रहेको भन्दै कार्यालयका प्रवक्तासँग बुझ्न आग्रह गरे। त्यसपछि प्रवक्ताको मोबाइलमा पटक पटक सम्पर्क गर्दा फोन उठेन।






