काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले पुराना दलहरूलाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताएका छन् ।
संघीय संसद् भवन बाहिर सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताएका हुन् ।
संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै राईले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताए ।
उनले प्रधानमन्त्री संसदमा उपस्थित भएको दिन आफूले सीमा समस्या र जनजीविकाका विषयमा महत्वपूर्ण प्रश्नहरू सोध्ने तयारी गरेको समेत जानकारी दिए। उनले जनताले भोगिरहेको समस्यालाई आफूले व्यक्तिगत रूपमा समेत महसुस गरेको उल्लेख गर्दै सरकारले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने बताए ।
देशमा देखिएको ग्यास अभाव र व्याप्त समस्याका बारेमा बोल्दै राईले भने, ‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन् । त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ। फेरि पनि पुराना दललाई नै दोष दिने हो भने सरकारको औचित्य रहँदैन । सभामुखले रुलिङ गर्नु आफैँमा एउटा उपलब्धि हो । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मान्यताका साथ यसलाई हेर्नुपर्छ ।’
प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपका सन्दर्भमा बोल्दै उनले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने र निवेदकले ठोस प्रमाणसहित कुरा उठाउनुपर्ने बताए ।






