काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ५ वटा संसदीय समितिको बैठक मंगलवार बस्ने भएको छ ।
बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदन माथि छलफल हुने कार्यसूची छ । छलफलमा उठेका विषयवस्तुमाथि जवाफ दिन समितिले कृषिमन्त्री, मन्त्रालयका सचिवलगायतलाई डाकेको छ ।
यस्तै बिहान १० बजे पूर्वाधार विकास समितिको बैठक बस्दै छ । बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र यसले भोग्नुपरेका समस्याहरूबारे छलफल गर्ने कार्यसूची छ ।
यस्तै, बिहान साढे १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरकारद्वारा नियुक्त हुने निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायत विविध विषयमा छलफल हुने कार्यसूची छ ।






