काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ। आयोगले निर्वाचन सञ्चालनका क्रममा देखिएका चुनौती, सुधारका सम्भावित क्षेत्र तथा आगामी कार्यदिशाबारे पूर्व पदाधिकारीबाट सुझाव लिएको हो।
आयोगका अनुसार नवनियुक्त प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूले पदभार ग्रहण गरेपछि निर्वाचन व्यवस्थापनसम्बन्धी विषयमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। निर्वाचन सञ्चालन र व्यवस्थापनमा विगतमा प्राप्त अनुभव तथा सिकाइलाई संस्थागत गर्दै आगामी निर्वाचनलाई अझ व्यवस्थित बनाउन पूर्व पदाधिकारीका सुझाव उपयोगी हुने आयोगको अपेक्षा छ।
छलफलमा निर्वाचन व्यवस्थापनका क्षेत्रमा विगतदेखि कायम रहेका अभ्यासलाई निरन्तरता दिँदै आवश्यक सुधार अघि बढाउने विषयमा जोड दिइएको थियो। निर्वाचन प्रक्रियामा देखिएका चुनौती सम्बोधन, नयाँ प्रविधिको उपयोग, सरोकारवालासँगको समन्वय तथा निर्वाचनसम्बन्धी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको आयोगले जनाएको छ।
आयोगले निर्वाचन व्यवस्थापनमा पारदर्शिता र विश्वसनीयता कायम गर्न सरोकारवालासँग नियमित संवाद तथा सहकार्य आवश्यक रहेको जनाएको छ। निर्वाचन प्रक्रियालाई नागरिकमैत्री बनाउँदै सहभागिता अभिवृद्धि गर्ने र व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने विषयमा पूर्व पदाधिकारीको अनुभवलाई समेत आधार बनाइने बताइएको छ।
कार्यक्रममा आयोगका वर्तमान पदाधिकारी तथा पूर्व प्रमुख निर्वाचन आयुक्त र पूर्व निर्वाचन आयुक्तहरूको सहभागिता रहेको थियो। आयोगका अनुसार छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल र नीलकण्ठ उप्रेतीलगायतको उपस्थिति थियो। वर्तमान निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, गुरुप्रसाद वाग्ले तथा डा. राजीव खत्रीलगायत पदाधिकारी पनि कार्यक्रममा सहभागी थिए।







