काठमाडौँ । श्रम संस्कृति पार्टीले सर्वसाधारणका समस्या तथा गुनासा संकलन गरी सरकारसमक्ष पुर्याउने उद्देश्यले ‘श्रम संस्कृति सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार सहायता कक्षमार्फत नागरिकले आफ्ना समस्या, गुनासा तथा सुझाव राख्न सक्नेछन्। सरकारले सम्बोधन गर्नुपर्ने विषयहरू जानकारी गराउन चाहने नागरिकलाई सहायता कक्षसँग सम्पर्क गर्न उनले आग्रह गरेका छन्।
साम्पाङले सहायता कक्षका लागि सम्पर्क नम्बर सार्वजनिक गर्दै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्पर्क गर्न सकिने जानकारी दिएका छन्।
नागरिकका समस्या व्यक्तिगत वा समूहगत रूपमा विभाजन नगरी सबैका गुनासा समेटेर सरकारसमक्ष पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।






