काठमाडौँ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमितता तथा सम्पत्तिसम्बन्धी आरोपहरू अस्वीकार गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दाहालले पछिल्लो समय आफूहरूलाई लक्षित गरी विभिन्न किसिमका आर्थिक आरोप र हल्ला फैलाइएको दाबी गरेकी हुन्। उनले यसअघि ठूलो परिमाणको सम्पत्तिसम्बन्धी आरोप लगाइएको र अहिले त्यसलाई परिवर्तन गरी अर्को रकमसँग जोडेर प्रचार गर्न खोजिएको उल्लेख गरेकी छन्।
दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै राजनीतिक असहमति वा प्रतिशोधका नाममा निराधार प्रचारलाई स्वीकार गर्न नसकिने बताएकी छन्। सत्य तथ्य र प्रमाणबाट स्थापित हुने भएकाले आरोप लगाउने पक्षले त्यसको पुष्टि गर्नुपर्ने उनको भनाइ छ।
उनले संविधान तथा प्रचलित कानुनअनुसार सम्बन्धित निकायबाट हुने कुनै पनि अनुसन्धानमा आफू र आफ्नो परिवारले सहयोग गर्ने स्पष्ट पारेकी छन्। सम्पत्ति विवरणसमेत सरकारले मागेको प्रक्रियाअनुसार बुझाइसकेको दाबी गर्दै गलत काम पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको उनले उल्लेख गरेकी छन्।
आफ्नो राजनीतिक पृष्ठभूमि र पारिवारिक अवस्थाको प्रसंग जोड्दै दाहालले आफूले बाबुलाई छोरीको हैसियतले सहयोग गर्नु नै गलत कार्य नभएको तर्क गरेकी छन्। लामो समयदेखि राजनीतिक संघर्षको वातावरणमा हुर्किएको उल्लेख गर्दै उनले आफूहरूलाई जनतालाई धोका दिने संस्कारबाट हुर्काइएको नभएको दाबी गरेकी छन्।
दाहालले आफू वा आफ्नो परिवारबाट आर्थिक गलत गतिविधि तथा पदको दुरुपयोग नभएको र भविष्यमा पनि त्यस्तो कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, प्रमाणबिनाका आरोप र अफवाहका कारण भ्रमित नहुन उनले सर्वसाधारणलाई आग्रह गरेकी छन्।
उनले सरकारको ध्यानाकर्षण गराउँदै आफूहरूमाथि लगाइने आरोपको तथ्यगत छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन्। कानुनी अनुसन्धानका लागि तयार रहेको तर आधारहीन आरोप स्वीकार्य नभएको उनको भनाइ छ।






