काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो घिउको पहुँच विस्तार गर्न थालेको छ । संस्थानले मध्यपूर्वी मुलुकमा ‘डीडीसी घिउ’ पठाउने प्रक्रिया सुरु गरेको हो ।
डीडीसीका प्रवक्ता निलकण्ठ गौतमका अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा घिउ निर्यात गर्ने गरी बजार तथा व्यापारिक सम्झौता भएको छ । माग अनुसार निर्यातको परिमाण र आवृत्ति बढाउन सकिने उनले जानकारी दिए ।
संस्थानले पहिलो चरणमा दुबईतर्फ ५०० किलो घिउ पठाउने तयारी गरेको छ । बजारको मागअनुसार आगामी दिनमा साप्ताहिक रूपमा समेत निर्यात गर्न सकिने डीडीसीको भनाइ छ ।
घिउको अन्तर्राष्ट्रिय बजार विस्तारलाई मध्यपूर्वमा मात्र सीमित नराखी अन्य मुलुकमा समेत पुर्याउने तयारी भइरहेको संस्थानले जनाएको छ ।






