काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीको स्वकीय सचिवालयको आकार कानुनबाटै सीमित गर्न माग गरेका छन् ।
शुक्रबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद विश्वकर्माले प्रत्येक मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्न पाउने व्यवस्था ऐनमै गर्नुपर्ने बताएका हुन् ।
सरकारबाहिर रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको स्वकीय सचिवालयमा रहने कर्मचारीको संख्या कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको उल्लेख गर्दै उनले अहिले भने सोही पार्टी नेतृत्वको सरकारका मन्त्रीहरूले ठूलो संख्यामा स्वकीय सचिव र सल्लाहकार राखेको आरोप लगाए ।
मन्त्रीका स्वकीय सचिवालयमा आवश्यकताभन्दा बढी जनशक्ति राख्दा राज्यको स्रोतसाधनमा अनावश्यक भार पर्ने उनको भनाइ छ ।
‘यो राज्यको दोहन र साधन स्रोतको दुरुपयोग हो,’ उनले भने, ‘यसबारे कानुन बनाएरै व्यवस्थित गर्नुपर्छ ।’
सांसद विश्वकर्माले मन्त्रीका स्वकीय सचिव, सचिवालयका कर्मचारी तथा सल्लाहकारको संख्या कटौती गरी एक मन्त्रीका लागि एक जना मात्रै स्वकीय सचिव रहने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।






