काठमाडौँ। सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा झापाका एक वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौरीगञ्ज गाउँपालिका-१ का वडासचिव अजयकुमार शाहविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीलाई दुःख तथा हैरानी दिँदै घुस मागेको उजुरीपछि आयोगको इटहरी कार्यालयबाट टोली परिचालन भएको थियो। अख्तियारका अनुसार टोलीले शाहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा शाहले कानूनी प्रक्रिया पूरा गरी उपलब्ध गराउनुपर्ने प्रमाणपत्र जारी गर्न जानीजानी ढिलासुस्ती गरेको अख्तियारको दाबी छ। दर्ता प्रक्रिया सहजीकरण गरी प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेर लिएको आयोगले आरोप लगाएको छ।
अख्तियारले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै १० हजार रुपैयाँ बिगो कायम गरेको छ।
आयोगले शाहविरुद्ध ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा बिगो बराबर जरिवाना सजाय माग दाबी गरेको छ।






