काठमाडौँ । सामुदायिक वनको काठ लिलामसम्बन्धी सिफारिस पत्र उपलब्ध गराउन सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा उदयपुरका एक वन अधिकृत पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले डिभिजन वन कार्यालय उदयपुरको योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेललाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमतिसम्बन्धी सिफारिस पत्र दिने प्रयोजनका लागि पौडेलले घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो।
उजुरीका आधारमा परिचालित टोलीले पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उक्त रकमसहित त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयबाट भदौ ४ गते नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार शुक्रबार विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ। पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।






