काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्न भदौ ७ गते आइतबार दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ। प्रदेश सभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै आठौँ अधिवेशनको १८औँ बैठकको मिति र समयबारे जानकारी दिएका हुन्।
प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरेका छन्।
बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्।
नयाँ सत्ता समीकरणअनुसार नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को समर्थनमा थापामगर भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।
मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्था पूरा गर्न उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।






