काठमाडौँ । वैदेशिक रोजगार विभागले साउन महिनामा पीडित श्रमिकहरूलाई मुद्दा तथा अनुसन्धान र उद्धार तथा राहत जस्ता शीर्षकमा कुल ७ करोड ८१ लाख ५६ हजार ५ सय ४० रुपैयाँ बराबरको रकम क्षतिपूर्ति स्वरुप पीडितलाई फिर्ता गराउन सफल भएको छ।
त्यसैगरि विभागमा प्राप्त भएका ३८१ वटा गुनासोमध्ये २८८ वटाको समाधान गरिएको छ, जुन कुल प्राप्त गुनासोको ७६ प्रतिशत फर्छ्योट हो।
विभागको मासिक तथ्यांक अनुसार राहत तथा उद्धार अन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना पीडितले कुल १ करोड ५ लाख ७६ हजार रुपैयाँ क्षतिपूर्ति प्राप्त गरेका छन्।
साउन महिनामा वैदेशिक रोजगारसँग सम्बन्धित ६०८ वटा नयाँ मुद्दा दर्ता भएका छन्। उजुरी डीओएफई डट कमबाट दर्ता भएका यस्ता मुद्दाहरू अनुसन्धानको प्रक्रियामा रहेका छन् भने कतिपय मुद्दाहरूमा अदालतमा दर्ता समेत हुने क्रममा छन् यस क्रममा अल्या भई आएका समेत गरी ७१ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने १७८ वटा मुद्दा आपसी मिलापत्रमार्फत टुङ्ग्याइएको छ। आपसी मिलापत्र हुँदा श्रमिकहरूलाई कुल ६ करोड ६४ लाख १७ हजार ५ सय ४० रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ।
यसका साथै, विभागले वैदेशिक रोजगार व्यवसायी संस्थाहरू (म्यानपावर) ले रकम लिएको तर वैदेशिक रोजगारीमा नपठाएको गुनासोका आधारमा म्यानपावरहरूले विभिन्न व्यक्तिबाट लिएको ११ लाख ६३ हजार रुपैयाँ फिर्ता गराइएको छ। साउन महिनामा विभागले २६ वटा नियमित र ३ वटा आकस्मिक गरी कुल २९ वटा अनुगमन कार्य सम्पन्न गरेको छ। अनुगमनका क्रममा दोषी पाइएकाहरूलाई ३९ लाख रुपैयाँ दण्ड–जरिवाना गरिएको छ ।
वैदेशिक रोजगारको क्षेत्रमा पीडितलाई न्याय दिलाउन थुप्रै जटिलताहरू विद्यमान छन्। पैसा तिरेको प्रमाणको अभाव,कमजोर मेलमिलाप जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न विभागले अनधिकृत एजेन्टमार्फत उठाइएको रकमलाई पनि अनुसन्धानको दायरामा ल्याएको र म्यानपावर कम्पनीहरूसँगको सम्बन्ध पुष्टि गर्ने कार्य गरिरहेको छ।
मिलापत्रमा मात्र भर नपरी प्रमाणका आधारमा श्रमिकले व्यहोरेको वास्तविक लागत बमोजिमको क्षतिपूर्ति सुनिश्चित गर्न विभागले जोड दिएको छ। साथै, डिजिटल उजुरी प्रणाली उजुरी डीओएफई डट कम अनलाइन पोर्टल मार्फत प्राप्त उजुरीलाई पनि व्यवस्थित गरी प्रभावकारी सेवा प्रवाह गरिरहेको छ।






