रुकुम पश्चिम । सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्य पहाडी लोक मार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारीसाधनले मुसिकोट खलंगाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।






