काठमाडौँ । गत आर्थिक वर्ष २०८२-८३ मा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिले शोधनान्तर बचत विस्तारमा महत्त्वपूर्ण योगदान गरेको छ।
अघिल्लो आर्थिक वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष चार अर्ब ३७ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्ष सात अर्ब पाँच करोड डलरले बचतमा पुगेको छ।
समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेर २३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। आयातमा भएको वृद्धिका बाबजुद रेमिट्यान्स आप्रवाहमा आएको उच्च सुधारले बाह्य क्षेत्रको सन्तुलन बलियो बनाउन सहयोग पुर्याएको राष्ट्र बैंकले जनाएको छ।
देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तरलाई शोधनान्तर भनिन्छ। बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा रहन्छ भने भित्रिनेभन्दा बाहिरिने रकम बढी भए घाटामा जान्छ।
गत आर्थिक वर्ष कुल वस्तु आयात १६.२ प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वस्तु निर्यात पनि १३.८ प्रतिशतले वृद्धि भई तीन खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष चालु खाता नौ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्ष चालु खाता चार खर्ब नौ अर्ब ८४ करोड रुपैयाँले बचतमा थियो।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ अर्ब ८४ करोड रुपैयाँ थियो।
त्यस्तै, गत आर्थिक वर्ष २८ अर्ब ४९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानीका रूपमा भित्रिएको छ। यो इक्विटी लगानी मात्रको तथ्यांक हो। अघिल्लो आर्थिक वर्ष यस्तो लगानी १२ अर्ब दुई करोड रुपैयाँ थियो।






