काठमाडौँ । चीनले नेपालतर्फ उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि केरुङ र नेपालमा बाढीजन्य विपत्ति उत्पन्न भएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केरुङ र नेपालमा आएको बाढीबारे पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन्।
‘चीन र नेपालका विज्ञहरू तथा आधिकारिक संस्थाहरूले विपत्तिको कारणबारे प्रारम्भिक मुल्यांकन गरेको हामीले जानकारी पाएका छौँ। उनीहरूको विश्लेषणअनुसार नेपालमा उच्च उचाइमा रहेको एउटा हिमनदी भत्किएपछि यो विपत्ति उत्पन्न भएको हो,’ उनले भनेका छन्।
प्रवक्ता लिनले बाढीका विषयमा चिनियाँ कम्युनिस्ट पार्टीको बैठकले शुक्रबार गरेका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिने पनि उल्लेख गरेका छन्।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उच्च भूभागमा हिमनदी पग्लिएर ताल बनिरहेको उल्लेख गर्दै ड्रोनबाट खिचिएको तस्बिरसमेत सार्वजनिक गरेको छ।






