काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवंगत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागीश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि सुरु भएको हो ।
एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साज सज्जाका साथ गाईको भेषमा बालबालिकाको र्याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको दायाँ बायाँ हजारौँ नरनारी भेला भएका थिए ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगर परिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू”, भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित हुने गरेको छ । यस वर्ष भने भोटेकोशी बाढीका कारण धेरैको निधन भएकाले हास्य व्यङ्ग्यात्मक कार्यक्रम नगरी सांस्कृतिक रूपमा मात्र यो पर्व मनाइएको छ ।
यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरिएकामा यो वर्ष भने शनिवारको सार्वजनिक बिदाकै दिन गाईजात्रा परेको छ ।






