काठमाडौँ । नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न शुरु गरिएको छ ।
फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान भई आफन्तलाई जिम्मा लगाइएको छ भने बाँकी शवहरूलाई सुरक्षित तवरले दफन गर्ने प्रक्रिया अगाडि बढाइएको हो । शवहरूलाई लामो समयसम्म फ्रिजमा राख्न नसकिने अवस्था भएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् ।
शव व्यवस्थापनका लागि १.५ मिटर गहिरो खाडल खनिएको छ, जहाँ प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनेछ । दुई वटा शवको बीचमा ४० सेन्टिमिटरको दूरी कायम गरिने र ठाउँको बचतका लागि एउटाको टाउको र अर्कोको खुट्टाको भाग मिलाएर राखिनेछ । प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने खालको संकेत चिन्ह (ट्याग) राखिनेछ । भरतपुरमा संकलन गरिएका शवहरूलाई ‘बिएचएफ ०१, ०२’ जस्ता कोडिङ गरेर नम्बरिङ गरिएको छ ।
शवलाई माटोले पुरिसकेपछि त्यसको ठिक माथि कङ्क्रिटको सामान्य ढलान गरी स्ट्यान्ड बनाइनेछ । जमिनमुनि शवमा राखिएको नम्बर र जमिनमाथि स्ट्यान्डमा राखिएको नम्बर एउटै हुनेछ, जसका कारण भविष्यमा पहिचान खुलेपछि शव निकाल्न सहज हुनेछ । यस प्रक्रियामा संयुक्त मुचुल्का तयार पार्नुका साथै फोटो, भिडियो र जीआर (भौगोलिक नक्शा) समेत सुरक्षित राखिनेछ ।
पहिचान नभएका सबै शवहरूको डीएनए नमूना संकलन गरिसकिएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तहरूले सम्बन्धित जिल्ला अस्पताल वा प्रहरी कार्यालयमार्फत आफ्नो डीएनए नमूना उपलब्ध गराउन सक्नेछन् । प्रयोगशालामा परीक्षण गर्दा आफन्तको डीएनए र शवको डीएनए म्याचिङ भएमा सुरक्षित रूपमा राखिएको शव निकालिने र कानुनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ ।
नारायणी र राप्ती नदीका विभिन्न भङ्गाला तथा निकुञ्ज क्षेत्रमा अझै पनि शवहरू हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षकको नेतृत्वमा विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ । नदी किनारबाट दैनिक रूपमा शव संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
शवहरू सडेको र दुर्गन्धित अवस्थामा फेला पर्ने गरेकाले संकलन र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि पीपीई सेट, ग्लोब्स र मास्कको अनिवार्य प्रयोग गरिएको छ । शव राख्नका लागि पर्याप्त संख्यामा ‘डेड बडी ब्याग’ को समेत व्यवस्था गरिएको छ । यो व्यवस्थापन कार्य विशेष गरी बाढी र प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिहरूको सम्मानजनक र वैज्ञानिक अन्त्येष्टिका लागि गरिएको हो ।










