काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका क्रममा कर्तव्य पालना गर्दा ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले राष्ट्रिय झण्डा ओढाएर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
आर्यघाटमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीका साथै विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूले उनीप्रति सम्मान प्रकट गरेका थिए। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा कार्यमा खटिएका बेला खड्काको निधन भएको थियो।






