काठमाडौँ। त्रिशूली नदीमा आएको बाढीका कारण गोरखा र धादिङ जोड्ने महत्वपूर्ण झोलुंगे पुल क्षतिग्रस्त भएको छ।
सोमबार बिहान नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाबीच रहेको चरौँदी झोलुंगे पुल चुँडाएर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बाढीको तीव्र बहावका कारण पुलमा क्षति पुगेपछि दुई जिल्लाबीचको स्थानीय आवतजावत प्रभावित भएको छ। पुलको क्षतिको विस्तृत अवस्था र त्यसबाट परेको प्रभावबारे सम्बन्धित निकायले थप विवरण संकलन गरिरहेको छ। यसैगरी त्रिशूली नदीमाथि धादिङको धवादी क्षेत्रमा रहेको अर्को झोलुंगे पुलमा समेत बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ।






