काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले रसुवा बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि अपनाएको नीति उचित नभएको बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले शव पहिचान र व्यवस्थापनको सरकारको कमजोरी देखिएको बताएका हुन् ।
शवलाई पहिचान नगरी जमिन मुनी व्यवस्थापन गर्ने कार्य गलत भएको उनले बताएका हुन् । शवको डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी व्यवस्थापन गरिएको भए पनि उक्त प्रक्रियाबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उनको भनाई छ ।
शव व्यवस्थापनका विषयमा पीडित परिवारबाट असन्तुष्टि व्यक्त भइरहेको भन्दै उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ । यद्यपि डीएनए परीक्षण पछाडि त्यसलाई पुनः उत्खनन गर्ने भन्ने हिसाबले शव व्यवस्थापन गरेको अवस्था छ । यसमा पीडितहरूको दृष्टिकोणबाट हेर्ने हो भने उनीहरूलाई चित्त बुझेको अवस्था छैन । त्यो सार्वजनिक प्रतिक्रियाहरू पनि आइराखेकै छन्, शव व्यवस्थापनका सन्दर्भमा अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ ।’
एमालेले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टी पङ्क्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको पनि महासचिव पोखरेलले जानकारी दिए । उनकाअनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ । महासचिव पोखरेलले बाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वयका लागि फोकल पर्सन तोकेर अगाडी बढ्नुपर्ने बताए। सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका काममा समन्वय गर्ने उनको भनाई छ ।






