काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका थप सात स्थानमा मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ।
टेलिकमले आइतबार अर्थात् २०८३ भदौ १४ गते रसुवाका पाँच र नुवाकोटका दुईवटा बीटीएस साइट सञ्चालनमा ल्याएको हो। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
रसुवामा नेपाल-चीन सीमास्थित रसुवा बोर्डर, अपर सान्जेन, छापथोके, जिपजिपे र गत्लाङ बीटीएस साइट सञ्चालनमा आएका छन्। नुवाकोटमा चारघरे र चारघरे मुलाबारी बीटीएस साइट पुनः सञ्चालन गरिएको छ।
रसुवा बोर्डर बीटीएस साइट सञ्चालनमा आएसँगै नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः उपलब्ध भएको छ।
अपर सान्जेन बीटीएस साइटबाट चिलिमे, लामागाउँ र आमाछोदिङमो गाउँपालिका–५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ।
छापथोके बीटीएस साइटले बेत्रावती, काउली, त्रिशूली–३ ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रलाई मोबाइल सेवामा जोडेको छ।
यसैगरी, जिपजिपे बीटीएस साइटबाट कालिका गाउँपालिकाका वडा नम्बर २ र ५ सहित धारापानी तथा देउरालीडाँडामा मोबाइल सेवा सञ्चालन भएको छ।
गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पा गाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजिम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध भएको कम्पनीले जनाएको छ।
नुवाकोटका चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट सञ्चालनमा आएसँगै विदुर नगरपालिका–१२ र १३ मा पनि मोबाइल सेवा पुनः सुरु भएको छ।
विपद्का समयमा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन प्राविधिक टोली निरन्तर परिचालित रहेको उल्लेख गर्दै टेलिकमले सेवा नियमित र भरपर्दो बनाउन काम भइरहेको जनाएको छ।






