काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन्।
एमाले महासचिव शंकर पोखरेलले नेतृत्व गरेको टोलीले रसुवाको प्रभावित क्षेत्रको अनुगमन गरी तयार पारेको प्रतिवेदन बुझ्ने क्रममा अध्यक्ष ओलीले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको उल्लेख गरे । उनले यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने उल्लेख गर्दै उनले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुन:निर्माणमा केन्द्रित गर्नुपर्ने बताए ।
खास गरी राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उहाँले तीनै तहका सरकार (केन्द्र, प्रदेश र स्थानीय) बीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राख्नुभयो । ओलीले राजनीतिक दल, संघ-संस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गर्नुभयो । नेकपा (एमाले) ले विपत्तिको संवेदनशीलतालाई ध्यानमा राखेर घटनाको सुरुवाती दिन (असोज १० गते) नै सचिवालय बैठक बसी समाधानमा जुट्ने निर्णय गरेको उहाँले जानकारी दिए ।
महासचिव शंकर पोखरेलले रसुवाको बाढी पहिरोबाट भएको क्षति र त्यहाँको बस्तुस्थितबारे विस्तृत जानकारी गराउँदै प्रतिवेदन बुझाएका हुन् ।






