काठमाडौँ। नेपालमा बाढीपछि उत्पन्न जोखिमलाई ध्यानमा राख्दै अमेरिकी सरकारले आफ्ना नागरिकका लागि जारी गरेको नेपालसम्बन्धी यात्रा परामर्श अद्यावधिक गरेको छ। पछिल्लो सूचनामार्फत रसुवाको रसुवागढी, टिमुरे हुँदै स्याफ्रुबेँसीसम्मको क्षेत्र तथा नेपाल-चीन सीमावर्ती भूभागमा यात्रा नगर्न आग्रह गरिएको छ।
अमेरिकी पक्षका अनुसार अगस्ट २६, २०२६ मा आएको ठूलो बाढीपछि उक्त क्षेत्रमा सडक, यातायात र सञ्चार पूर्वाधार प्रभावित छन्। विपद् व्यवस्थापनअन्तर्गत खोज, उद्धार तथा पुनर्स्थापनाका काम चलिरहेकाले त्यहाँ जोखिम कायम रहेको र थप बाढी तथा पहिरो आउन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।
यात्रा परामर्शमा सम्बन्धित भू-भागलाई ‘लेभल-४ : यात्रा नगर्नुहोस्’ को वर्गमा राखिएको छ। जोखिमयुक्त क्षेत्रको दायरामा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीसमेत समेटिएका छन्।
अमेरिकी सरकारले विशेष गरी नदी तथा खोलाको किनार, तल्लो भूभाग, बाढीबाट क्षतिग्रस्त पुल र कमजोर भिरालो स्थानबाट टाढा रहन आफ्ना नागरिकलाई सुझाव दिएको छ। स्थानीय नेपाली अधिकारीबाट सुरक्षित स्थानतर्फ सर्न वा अन्य कुनै सुरक्षासम्बन्धी निर्देशन प्राप्त भए त्यसको पालना गर्नसमेत भनिएको छ।
विपद्मा बेपत्ता भएका व्यक्तिको खोजीका लागि समेत जोखिमयुक्त क्षेत्रमा स्वयं प्रवेश नगर्न अमेरिकी नागरिकलाई सचेत गराइएको छ। उद्धार तथा पुनर्स्थापनाको काम भइरहेका बेला व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा पुग्दा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै त्यस्तो यात्रा पूर्ण रूपमा रोक्न परामर्श दिइएको हो।






