काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई पुन:स्थापनामार्फत सामान्य जनजीवनमा फर्काउनु सरकारको अबको मुख्य बाटो भएको बताएका छन्।
बाढी आएको छैटौँ दिनमा सोमबार सामाजिक सञ्जालमार्फत खोज, उद्धार, उपचार, राहत तथा सेवा पुन:स्थापनाको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रभावित नागरिकको पुन:स्थापनाका लागि आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी रहेको बताएका हुन्।
‘हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरूले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘उहाँहरूको पीडामा मलहम लगाउँदै पुन:स्थापनामार्फत सामान्य जनजीवनमा पुर्याउनु अबको बाटो हो।’
उनले प्रभावित नागरिकलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुन:स्थापना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण सङ्कलनसमेत सुरु गरिएको उनको भनाइ छ।
११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ सम्पर्कविहीन
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उनका अनुसार अझै तीन हजार ९२५ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन व्यक्तिको संख्या भने घटबढ भइरहेको उनले स्पष्ट पारेका छन्।
उद्धारपछि विभिन्न अस्पतालमा भर्ना गरिएका २७९ घाइतेमध्ये १६८ जना उपचारपछि घर फर्किसकेका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढीमा परी ज्यान गुमाएका ९३९ जनाको शव फेला परेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको उनले बताएका छन्।
पहिचान गर्न नसकिने शवको डीएनएसहित पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ अनुसार व्यवस्थापन भइरहेको उनको भनाइ छ।
३६९६ प्रभावितसम्म राहत
सरकार अझै खोज तथा उद्धारमा केन्द्रित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यससँगै राहत संकलन र वितरणलाई पनि प्राथमिकतामा राखिएको बताएका छन्।
उनका अनुसार रसुवा, नुवाकोट र धादिङका चारवटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वितरण केन्द्रबाट तीन हजार ६९६ प्रभावित नागरिकसम्म राहत पुर्याइएको छ।
भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्विट्जरल्यान्ड र अस्ट्रेलियालगायत मित्रराष्ट्रबाट सहयोग प्राप्त भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। राहत वितरणको प्रभावकारिता अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्य र कर्मचारीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको पनि उनले उल्लेख गरेका छन्।
राहत कोषमा पाँच अर्ब ८७ करोडभन्दा बढी
प्रधानमन्त्री शाहका अनुसार प्रधानमन्त्री राहत कोषअन्तर्गत नौवटा वाणिज्य बैंकका खातामा सोमबार मध्याह्नसम्म पाँच अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ।
हिमालयन र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको उनले बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘उद्धार अनुरोध पोर्टल’मार्फत स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरिएको उनको भनाइ छ।
त्रिशूलीपारिको भू-भाग सडक सञ्जालमा जोडियो
बाढीपछि सम्पर्क टुटेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले बताएका छन्।
गल्छी-त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसीबाट त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ। यसबाट उद्धार, राहत वितरण र अत्यावश्यक वस्तुको आपूर्तिमा सहज हुने सरकारको अपेक्षा छ।
रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानका पुल भत्किएकाले सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको शाहले बताएका छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ।
भारतबाट २३० फिट लामो एक लेनको मोडुलर स्टिल ब्रिज प्राप्त भएको र थप सातवटा बेलिब्रिज पठाउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन्। चीनबाट पनि ३० वटा बेलिब्रिज प्राप्त हुने जनाइएको छ।
जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार
प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजनाबाट २७९ जनाको उद्धार गरेको छ। आयोजनाका सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा खोजी जारी छ।
माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट २५४, मैलुङ खोला आयोजनाबाट नौ, रसुवागढीबाट दुई, माथिल्लो त्रिशूली-३ बीबाट दुई, त्रिशूली आयोजनाबाट तीन, सौर्य आयोजनाबाट चार र देवीघाट जलविद्युत् आयोजनाबाट चार जनाको उद्धार गरिएको छ।
रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाको सुरुङ खोल्न नेपाली सेनासँगै भारतीय उद्धार टोली परिचालित छ। माथिल्लो त्रिशूली-थ्री एमा तीनवटै सुरक्षा निकायका ९० जनाले खोज तथा उद्धार गरिरहेका छन्। विभिन्न आयोजनामा कोरियाली तथा चिनियाँ उद्धार टोलीले समेत काम गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
विद्युत् र सञ्चार सेवा पुन:स्थापना हुँदै
प्रधानमन्त्री शाहका अनुसार रसुवाका करिब ३० प्रतिशत घरधुरीमा विद्युत् सेवा पुन:स्थापना भएको छ। बाँकी क्षेत्रमा सेवा उपलब्ध गराउन पाँच सय थान पोर्टेबल सोलार पठाइएको छ।
नुवाकोटमा ८५ प्रतिशत र धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुन:स्थापना भएको छ। नुवाकोटको बाँकी क्षेत्रमा पाँच दिन र धादिङमा दुई दिनभित्र सेवा सञ्चालन गर्ने गरी काम भइरहेको उनले बताएका छन्।
सञ्चारतर्फ नेपाल टेलिकमका १२० मध्ये ११० र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा दिन थालेका छन्।
‘भोटेकोशीको बाढी सामान्य विपद् होइन’
प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको बाढीलाई हिमालय क्षेत्रमा हिउँ-चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपद्का रूपमा उल्लेख गरेका छन्।
‘यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ,’ उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषय बलियो गरी उठान गर्नुपर्ने समय आएको छ।’
प्रधानमन्त्रीले खोज, उद्धार र राहतमा परिचालित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था, प्रदेश तथा स्थानीय सरकार, मित्रराष्ट्र र सहयोगी निकायको भूमिकाप्रति आभार व्यक्त गरेका छन्।






