सिन्धुपाल्चोक । चीन सरकारले नेपाल-चीन बीचको उत्तरी नाका तातोपानी पारी रहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेलमार्फत दिएको छ ।
सम्भावित विपद्लाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएका हुन् ।
“हामीलाई उहाँहरुले छोटो इमेल गर्नुभएको छ”, पाण्डेले चिनियाँ अधिकारीले पठाएको इमेललाई उदृत गर्दै भने, “हामीले केही समयको लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ , कहिले खोल्छौँ भन्ने जानकारी अर्को इमेलमा गराउनेछौँ भनिएको छ ।”
रसुवामा आएको बाढीजस्तै तातोपानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनियाँ पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइ छ ।
उनका अनुसार चिनियाँ अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङ्मु पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ ।
चिनियाँ पक्षले सेप्टेम्बर ३ तारिकसम्म खासामा निर्माण कार्य गर्नुपर्ने भएकाले केही दिन अघिदेखि कन्टेनर पठाउन रोक्ने निर्णय गरेको थियो ।
चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ । नाका कहिलेदेखि पुनः सञ्चालन हुनेबारे बताइएको छैन ।
भन्सार अधिकृत पाण्डेले चिनियाँ पक्षले खुल्ने बित्तिकै नयाँ सूचना दिने बताएको जानकारी दिए । रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो ।
तातोपानी नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापारको विकल्प साँघुरिएको छ । दशैँ र तिहार नजिकै आएको अवस्थामा यो निर्णयले नेपाललाई असर पर्ने यहाँका व्यवसायीहरूको भनाइ छ ।
न्यालम काउन्टीमा रहेको झाङ्मु पोर्टवारीको तातोपानी नाकाबाट असार ३१ मा आएको पहिरोका कारण दुई देशबीच आयात निर्यात हुन सकेको थिएन ।
अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरोले सडक बिग्रिएपछि नाकाबाट ढुवानी लगभग बन्द जस्तै थियो ।
सडक विभागले टोली खटाएर मर्मतको काम गरेपछि ४० दिनपछि अस्थायी रूपमा सडक सञ्चालन भएको थियो । त्यसपछि पछिल्लो पटक भदौ १२ गते तातोपानी नाकाबाट आठ वटा कन्टेनर नेपाल भित्रिएका थिए ।
झाङ्मु पोर्ट बन्द गरिए पछि नेपाल भित्रने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समयदेखि काम विहीन भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीसमेत बिचल्लीमा परेका छन् ।
खासा भन्दा माथि न्यालम र थिङ्रीमा फलफूलबोकेका ६० वटा कन्टेनर ४५ दिनदेखि अलपत्र परेका छन् । ती फलफूल एसी कन्टेनरमा भएकाले सुरक्षित छन् । तर, लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण मूल्य वृद्धि हुने अवस्था रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताए ।
उनका अनुसार ४० करोड रुपैयाँ बराबरको फलफूल चिनियाँ क्षेत्रमा छ । दशैँ–तिहार लक्षित फलफूल आयातमा यस पटक धेरै समस्या भोग्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।






