काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताए । उनले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल प्रभावित क्षेत्रका नागरिकसम्म राहत पुर्याउन सरकारलाई आग्रह समेत गरे। उनले बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारलाई राहत वितरणमा परिचालन गर्नुपर्नेमा जोड दिए।
उनले बाढी प्रभावित क्षेत्रमा काकाकुल हुने स्थिति सिर्जना हुन नदिन पहुँच नपुगेको वर्ग र समुदायसम्म सरकार पुग्नुपर्ने बताए। उनले विपद्को यस अवस्थामा राजनीतिक दल, सरकार, तथा नागरिक समाज एकजुट भएर प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सरकारले स्थानीय जनप्रतिनिधिसँग कोर्डिनेसन गर्ने कुरामा कमजोरी भयो कि भन्ने लागेको छ । प्रभावित क्षेत्रको पालिकासँग, वडासँग, वडा अध्यक्षसँग, जनप्रतिनिधिसँग जोडिएर जानुपर्छ । त्यसो भयो भने छिटो पुगिन्छ । अलि ढिलासुस्ती भयो जस्तो लागेको छ । समस्या भएकोले सरकारले तिब्रताका रूपमा जानुपर्छ । अहिले पनि नागरिकले राहत नपाएको कुरा सुनिएको छ । यसमा सरकारले तदारुकताका साथ लाग्नुपर्छ । राहत वितरणमा स्थानीय तह नै परिचालन गर्नुपर्छ ।’
बाढी परि सम्पर्कविहीन भएका नागरिकको उद्धार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।






