काठमाडौँ । भोटेकोशी क्षेत्रमा बाढी पहिरोबाट सिर्जित क्षति तथा त्यसपछि उत्पन्न अवस्थाको व्यवस्थापनबारे विभिन्न राजनीतिक दलका नेताहरूबीच छलफल भइरहेको छ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको कार्यालयमा जारी बैठकमा विपद्बाट प्रभावितको खोज तथा उद्धार, राहत, पुन:स्थापना र आगामी व्यवस्थापनका विषयमा छलफल केन्द्रित छ।
बैठकमा सहभागी दलका दोस्रो तहका नेताहरूले विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउने, जलवायुजन्य जोखिमसँग अनुकूलन हुने नीति अवलम्बन गर्ने तथा राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी नीतिलाई समयानुकूल परिमार्जन गर्ने विषयमा विचारविमर्श गरिरहेका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् व्यवस्थापनमा सरकारका कामलाई निरन्तर सुझाव, सहयोग र निगरानी प्रदान गर्ने उद्देश्यले संसदीय समिति वा उच्चस्तरीय सर्वदलीय संयन्त्र निर्माण गर्ने प्रक्रियालाई अघि बढाउने विषय पनि बैठकको प्रमुख एजेन्डामा छ।
यसअघि भदौ १० गते भोटेकोशी क्षेत्रमा बाढी पहिरो आएपछि बसेको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका विषयमा १० बुँदे साझा संकल्प गरेको थियो। उक्त संकल्पले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धार तथा राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन समाधानतर्फ लैजानुपर्नेमा जोड दिएको थियो।
साझा संकल्पको दशौँ बुँदामा विपद् व्यवस्थापन, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका कामलाई दीर्घकालीन र दिगो आधारमा अघि बढाउनुपर्ने उल्लेख छ। सोही प्रतिबद्धतालाई कार्यान्वयन गर्ने क्रममा सरकारका विपद्सम्बन्धी कामको समन्वय, अनुगमन र सहजीकरणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो।






