काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण र ई-पेन्सन सेवाबीचको प्रणालीगत समन्वयमा देखिएको समस्या समाधान गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागका अनुसार राष्ट्रिय किताबखानासँग राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) लाई अन्तर आबद्ध गरी २०८२ चैत ६ गतेदेखि ई-पेन्सन सेवा सञ्चालनमा ल्याइएको हो।
तर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका केही सेवाग्राहीको राष्ट्रिय परिचय नम्बर (एनआईएन) प्रणालीबाट स्वीकृत नहुँदा निवृत्तिभरण अधिकार पत्रका लागि आवश्यक विवरण प्राप्त गर्न समस्या देखिएको हो।
समस्या देखिएका सेवाग्राहीमध्ये केही कर्मचारी तथा निवृत्तिभरणसम्बन्धी सेवा लिनुपर्ने व्यक्तिको डिजिटल तस्बिर र डिजिटल हस्ताक्षर लगायतका विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीबाट व्यक्तिगत सूचना प्रणाली (पीआईएस) मा प्राप्त हुन नसकेको विभागले जनाएको छ।
प्राविधिक समस्याका कारण सेवाग्राहीलाई परेको असुविधाप्रति विभागले क्षमा याचना गरेको छ। साथै, ई-पेन्सन सेवा दर्ता गर्ने क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत डिजिटल तस्बिर र डिजिटल हस्ताक्षर अपलोड गर्न सकिने वैकल्पिक व्यवस्था मिलाइएको जनाएको छ।
विभागले प्रणालीमा देखिएको समस्या समाधान तथा सेवा प्रवाहमा परेको प्रभाव न्यूनीकरणका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।







