काठमाडौँ । बाढीका कारण प्रभावित दूरसञ्चार संरचना पुनः सञ्चालन गर्ने क्रममा नेपाल टेलिकमले थप तीनवटा साइटबाट सेवा सुचारु गरेको छ । कम्पनीले भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटारमा रहेका साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीलाई दूरसञ्चार सेवा उपलब्ध हुनेछ ।
त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् । पुसनटार साइटबाट भने पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत स्थानमा सेवा विस्तार भएको छ ।
तीन साइट थपिएसँगै बाढीबाट प्रभावित कुल १२० साइटमध्ये ११३ वटा सञ्चालनमा आएका छन् । यसबाट प्रभावित क्षेत्रका अधिकांश स्थानमा पहिले उपलब्ध दूरसञ्चार सञ्जालको पहुँच पुन:स्थापित भएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमले पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका साइटहरूको क्षमता पनि क्रमशः बढाउँदै लगेको जनाएको छ । आंशिक क्षमतामा चलिरहेका संरचनालाई पूर्ण क्षमतामा ल्याउने कार्यसमेत निरन्तर अघि बढाइएको कम्पनीको भनाइ छ ।






