काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म पुग्न नसकेको आरोप लगाएकी छन् । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन्।
उनले सरकारले उद्धार तथा राहतमा प्रभावकारी समन्वय गर्न नसकेको आरोप पनि लगाइन् । सरकारका मन्त्रीहरू सामाजिक सञ्जालमा प्रचार गर्नमा व्यस्त भए पनि विपद् प्रभावित नागरिकले सरकार आफूसँगै रहेको आभास गर्न नसकेको उनको भनाइ छ ।
उनले यो विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती प्रशासनले गरेको कामप्रति प्रशंसायोग्य रहेको समेत बताइन् । झाँक्रीले जलवायु परिवर्तनका कारण आगामी दिनमा पनि अनावृष्टि, अतिवृष्टि, खडेरीलगायतका विपद् दोहोरिन सक्ने भन्दै सरकार र नागरिकले विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीको लागि थप तयारी गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘सोसियल मिडियामा भयंकर भिजिबिलिटी छ । सोसियल मिडियाको अल्गोरिदमहरु चुनाव जस्तै हाइपमा छ । तर यो सरकारको समर्थकहरू, यसका कार्यकर्ताहरू, यसका नेताहरुले के लेख्दै छन् । सोसियल मिडियामा के म्यासेज दिइरा छन् । त्यसले सरकारले कति प्रभावकारी काम गरिरहेको छ भनेर देखिन्छ नि । कोही सांसदहरुलाई बोकेको फोटो हाल्नुभएको छ, कोही सांसदहरु हेलिकप्टर चढेको सेल्फीको फोटो हाल्नुभएको छ, मन्त्रीहरूले त अर्काको फोटोलाई पनि टनेल भित्र सिरेको भन्दै तानी रहनुभएको छ । अरु के नै गर्नुभएको छ र ?’
नेकपा (एमाले)ले प्रदेश तथा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा राहतका कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाइ छ ।






