काठमाडौँ । नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित स्मारक उच्चस्तरीय समारोहलाई सम्बोधनका क्रममा विश्वले बढ्दो जटिलता र बहु आयामिक संकट व्यहोरिरहेको मन्त्रालयले जनाएको छ ।
ढकालले पुनः बढ्दो द्वन्द्व र तनावका साथै ध्रुवीकरण र विखण्डनको अवस्था सामना गरिरहेको उल्लेख गर्दै नामलाई नवीकरण तथा पुनर्जीवित गर्न आवश्यक रहेको बताए ।
उनले हतियारको होड, आर्थिक असमानता तथा डिजिटल विभेदलगायत विश्वव्यापी चुनौतीको सम्बोधन गर्न नेपालले असंलग्न आन्दोलनलाई महत्त्वपूर्ण मञ्चका रूपमा अंगीकर गरेको छ, भने ।
ढकालले सदस्य राष्ट्रलाई ‘नाम’का सिद्धान्तमा एकजुट भई बहुपक्षीयतालाई सुदृढ गर्न तथा अन्तर्राष्ट्रिय कानुनी शासनलाई थप मजबुत बनाउन ठोस र समन्वित कदम चाल्न आह्वान गरे ।
‘नाम’का सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, परराष्ट्र मन्त्री तथा उच्च प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा आन्दोलनको इतिहास, समकालीन विश्व शासनमा नामको भूमिकाबारे छलफल भएको थियो ।
बैठकमा सर्बिया गणतन्त्रका परराष्ट्र मन्त्री मार्को ज्युरिचले हालै नेपालमा आएको बाढीका कारण नेपालले व्यहोर्नुपरेको दुःखमा नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।
यस क्रममा ढकालले अंगोला गणतन्त्रका बाह्य मामिला सम्बन्धमन्त्री टेटे एन्टोनियो, अरब अधिराज्यका उपविदेश मन्त्री इ वालीद ए.एम.एल्खेरेजीसँग भेटवार्ता गरी द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विषयमा छलफल गरेका थिए।
त्यसैगरी, सर्बिया गणतन्त्रका कृषि, वन तथा जल व्यवस्थापन मन्त्रीका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार आन्द्रेज सिभियानोभिचसँग पनि भेटवार्ता गरी कृषि तथा वनको क्षेत्रमा नेपाल–सर्बिया सहयोगलाई थप सुदृढ गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए ।






