काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढी पहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गरेका छन् ।
बुधवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुको साटो अहंकार र दम्भ देखाएको आरोप लगाएका हुन् ।
प्रमुख सचेतक महरले राजनीतिभन्दा मानवता माथि हुने उल्लेख गर्दै एमाले संकटको सामना गर्न राष्ट्रिय एकता कायम गर्ने पक्षमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे ।
महरले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा सरकारको सुस्तताप्रति आपत्ति जनाए। उनले राजनीतिक दल, नागरिक समाज र तीनै तहका सरकारको सहयोग लिनमा प्रधानमन्त्री चुकेको बताए ।
उनले भने, ‘हामीले भदौ १० गतेको सदनको बैठकमै सरकारले संकटको नेतृत्व गरोस् र देश एक ठाउँमा उभियोस् भन्ने धारणा राखेका थियौँ । तर विगत एक हप्ताको घटनाक्रम हेर्दा सरकारले सबै शक्तिलाई परिचालन गर्न सकेको देखिएन । प्रधानमन्त्रीले हिलोमा खोज्ने मेसिन संसारमा कतै पाइँदैन भन्नुभयो, जुन तर्कसंगत छैन । साथै, बाढी आउनुभन्दा आधा घण्टाअघि एसएमएस पठाइएको दाबी पनि विवादास्पद छ । सम्बन्धित निकायले बाढी आएको ४५ मिनेटपछि मात्र सूचना सम्प्रेषण गरेको देखिन्छ । प्रधानमन्त्रीले यस्ता संवेदनशील विषयमा फेसबुक स्टेटसबाट मात्र नभई सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी दिनुपर्थ्यो ।’
मन्त्रीहरू आफैँ उद्धार स्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गरे । मन्त्रीहरू आफैँ जानुभन्दा सम्बन्धित क्षेत्रका विज्ञ र प्राविधिकहरूलाई परिचालन गरेर वास्तविक उद्धार र खोजी कार्यलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए । एमालेले संकटको यस घडीमा आरोप-प्रत्यारोपभन्दा माथि उठेर, पीडितलाई न्याय र राहत प्रदान गर्न तथा बेपत्ताहरूको खोजी कार्य सफल बनाउन सरकारलाई पुनः आग्रह गरेको छ ।






